काठमाडौं पुष २८,
बलिउड अभिनेत्री, मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो(स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।
मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् ।।
यसपटकको नेपाल बसाइ छोटो हुने तर अधिकांश समय इभेन्टमा बिताउने मलाइकाको भनाइ छ । ‘छोटो हुनेछ बसाइ तर मेरो अधिकांश समय यहीं बित्नेछ,’ उनले भनिन्, ‘नेपाल बसाइमा यहाँको फेसन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु ।’
रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् ।