काठमाडौं, साउन ३२ –
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
‘हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइनसकेको उनले बताइन् । सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।







