काठमाडाैं जेठ १७,
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटको पेशी आज पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगित गरेका हुन् ।
बुधबार पनि न्यायाधीश पोखरेलकै इजलाशमा पेशी तोकिएको थियो र निवेदकले सुनुवाइ स्थगित गरेका थिए ।
रवि लामिछानेलाई पदबाट निलम्बन गर्न मागसहित अधिवक्ता भट्टराईले सोमबार रिट दर्ता गरेका थिए ।
रिटमा उपप्रधान तथा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।
सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।
रवि लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।
सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रवि समेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ । यसबारे छानबिन गर्न संसदीय समिति समेत बनिसकेको छ ।








