सिरहा, जेठ ३
सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको ट्रक रोकेको जनाएको छ ।
प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिइएको छ।बरामद गरिएको सामान तथा ट्रकको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।







