गैँडाकोट, २८ पुस-
नवलपुरको गैँडकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका बताए । माघ १० गतेसम्म सञ्चलन हुने महोत्सवमा जलपरी, ओपेरा हाउस मुख्य आकर्षणको रुपमा रहेको उनको भनाइ छ । महोत्सवमा कृषि परिसर, व्यापारिक स्टल, अटो, बाल उद्यान तथा रेष्टुरेन्ट रहेका छन् ।
करिब २५० स्टल रहेको महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । पाण्डेकाअनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए । महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।
यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुती दिएर भरपुर महोत्सव दिएका थिए । त्यस्तै शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गायर समेत दर्शकलाई मनोरञ्जन दिएका लम्सालको भनाइ छ ।
महोत्सवमा स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न सोमबार समेत भजन प्रतियोगिता जारी रहेको । विभिन्न भजन समूहले प्रस्तुती राखेका भन्दै लम्सालले भजन प्रतियोगिताम जम्मा १८ टिम सहभागी रहेका जानकारी दिए । भजन प्रतियोगितामा पहिलो हुने टिमलाई महोत्सव समापनका दिन पुरस्कार प्रदान गरिने लम्सालले जानकारी दिए ।






