चितवन, पुष १० –
कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनद्वारा आयोजित ‘किसानस्तरका लागि एएमआर’ (Antimicrobial Resistance) जनचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।
पौष ८ र ९ गते (डिसेम्बर २३ र २४) मा दुई दिनसम्म तालिम सञ्चालन थियो । कार्यक्रममा चितवनको भरतपुर, माडी, इच्छाकामना र नवलपरासीको गैंडाकोटबाट आएका ५५ जना पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य पशुपालन क्षेत्रमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको वैज्ञानिक तथा जिम्मेवार प्रयोगबारे किसानहरूलाई सचेत गराउनु, औषधिको दुरुपयोगबाट सिर्जना हुने एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) को जोखिमबारे जानकारी दिनु तथा मानव, पशु र वातावरणीय स्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे जनचेतना अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा एएमआरको अवधारणा, पशु स्वास्थ्य व्यवस्थापन, जैविक सुरक्षा, औषधिको सही मात्रा, समय र विधि, रोग रोकथामका उपाय तथा ‘वन हेल्थ’ अवधारणासम्बन्धी विषयमा विज्ञ स्रोत व्यक्तिहरूद्वारा सहजीकरण गरिएको थियो ।
कार्यक्रमका स्रोत व्यक्तिहरुका रुपमा प्रा.डा. भुमिनन्द देवकोटा, प्रा.डा. होमबहादुर बस्नेत, प्रा.डा. सुबिर सिंह, प्रा.डा. रेवन्त कुमार भट्टराई , डा. गोकर्ण गौतम, डा. अमरनाथ चौधरी र डा. रामकृष्ण यादव जस्ता पशु स्वास्थ्य तथा एएमआर क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तरक्रियात्मक विधिमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत सहभागी किसानहरुले आफ्ना अनुभव, समस्या र जिज्ञासाहरू साझा गर्दै व्यवहारिक समाधानका उपायबारे प्रत्यक्ष छलफल गर्न अवसर पाएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पुष्कर बहादुर पालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कृषि तथा पशुपालन क्षेत्रमा सुरक्षित, वैज्ञानिक तथा जिम्मेवार औषधि प्रयोगको आवश्यकता औंल्याउनु भएको थियो । उहाँले किसानस्तरमै एएमआरसम्बन्धी जनचेतना विस्तार गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रमको समापन सत्रमा विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थापालियाले एएमआर विश्वव्यापी चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि किसानस्तरमै प्रभावकारी जनचेतना अत्यावश्यक रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय र किसानबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम एशियन डेभलपमेन्ट बैंक (एडिबि), जेनेक्स र सथगुरुको सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको निरन्तर शिक्षा केन्द्र आयोजना गरेको थियो । निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा.डा. ओमप्रकाश सिंहले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, स्रोत व्यक्ति तथा सहभागी किसानहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।








