काठमाडौं, भदौ १३-
श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ।
तेलको गुणस्तरमा गुनासो आएपछि महानगरले गत असार ७ गते उत्पादक कम्पनीसँग विवरण मागेको थियो।
प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको र उक्त प्रतिवदेनकै आधारमा जरिवाना गरिएको हो । कम्पनीबाट प्राप्त विवरणको प्राविधिक विश्लेषण गर्दा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत अवधेश झाले बताए।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड)उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको महानगरको भनाइ छ।
कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पनि नपाइएको उनले बताए। ‘यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) होइन,’ प्रतिवेदनमा उल्लेख छ। इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाण पत्र उत्पादित तेलमा प्रयोग गरिएको छ। यसो गर्न पनि नमिल्ने प्रतिवेदनमा उल्लेख छ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) को प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको महानगरको भनाइ छ। सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको पाइएको छ। उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल)को प्रयोग म्याद भन्दा कम देखिएको छ।
तेलको लेबलमा उल्लेख भएका तत्व र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात पनि प्राप्त नभएको महानगरको भनाइ छ। लेबलमा उल्लेख फाइदा ९कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि० पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनमा उल्लेख छ।







