काठमाडौं, साउन ३०
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ ।
साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरुप मुकुललाई स्पष्टीकरण सोधिएको छ । उनले पार्टीविरुद्ध निरन्तर विवादित टिका टिप्पणी गरेको रास्वपाले जनाएको छ ।
“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।
विभिन्न सञ्चार माध्यममा ढकालले दिएका विवादित अभिव्यक्तिबारेको प्रमाण पनि स्पष्टीकरण पत्रमा समावेश गरिएको छ ।
ढकालले यसअघि गरिएको कारबाही पुनरावलोकन गर्न भन्दा मिडियामार्फत विरोध गरेका थिए । उनले पार्टी कारबाहीलाई अमान्य घोषणा गरेका थिए ।
यहीबिच सत्तारुढ एमाले प्रवेश गर्ने चर्चाका बिच रास्वपाले कारबाही स्वरूप पछिल्लो स्पष्टीकरण सोधेको हो ।