काठमाडौं, २४ साउन
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाका शव पहिचान गर्न केही दिन लाग्ने भएको छ ।
मृतक चिनियाँ नागरिकको ‘एन्टीमोटम’ विधिबाट परीक्षणका निम्ति विवरण संकलन गर्नुपर्ने भएकाले केही दिन लाग्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का फेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार, जलेर पाँचै शव चिन्न नसकिने अवस्थामा छन् । एन्टीमोटम परीक्षणका निम्ति परिवारले नमुना तथा विवरण उपलब्ध गराएपश्चात् ‘म्याचिङ’ थालिनेछ ।
एन्टीमोटम विधिमा मृतकको औँठाछाप, दाँतको मेडिकल रिपोर्ट र अरू शारीरिक विवरणका आधारमा शव पहिचान गरिन्छ । यसरी सम्भव नभएमा डीएनए परीक्षणमार्फत पहिचान गर्नुपर्ने हुन्छ ।
बुधवार दिउँसो काठमाडौंबाट रसुवाका निम्ति उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टर सूर्यचौरमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।







