काठमाडौं, २४ साउन
वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम (संग्रहालय) बन्ने भएको छ ।
पुरानो भवन भत्काएर मौलिक शैलीको भवन बनाउने र उक्त भवनमा नेपाल प्रहरीसँग सम्बन्धित कलाकृति र इतिहास झल्किने सामग्री प्रदर्शनीमा राख्नेबारे स्थानीयवासी, प्रहरी र पुरातत्व विभागबीच सहमति भएको हो ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले पुरानो संरचना हटाएर नेपाल प्रहरीकै लागि आवश्यक संरचना बनाइने बताए । ‘अहिले भइरहेकै संरचनामा म्युजियम सञ्चालन गर्न मिल्दैन । भवन बस्नलायक छैन । तर, त्यो नेपाल प्रहरीको सम्पत्ति भएकाले त्यसलाई प्रहरीले नै उपभोग र संरक्षण गर्नेछ,’ उनले भने, ‘वसन्तपुर क्षेत्र पर्यटकीय गन्तव्य भएकाले पर्यटक प्रहरी भनेर पनि राख्ने कि भन्नेमा पनि छलफल चलिरहेको छ, विभागले यसमा सहमति जनाएको छ ।’







