काठमाडौं, २३ साउन
एउटै चलचित्रमा तीन नायिकाले स्क्रिन सेयर गर्ने भएका छन् । केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले एउटै चलचित्रमा काम गर्ने भएका हुन् ।
निर्देशक दीपेन्द्र के खनालको आग्रहलाई स्वीकार गर्दा तीन नायिका एउटै सिनेमामा देखिने भएका छन् ।
यही शुक्रबारदेखि छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा यी तीन नायिकाले काम गर्न लागेका हुन् । तीनैजनासँगै निर्माणपक्षले कागजी सम्झौता गरिसकेको निर्देशक खनालले जानकारी दिए ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको चलचित्रको कथा वुद्धिसागरले लेखेका हुन् । चलचित्रको छायांकन काठमाडौंमा हुनेछ ।







