काठमाडाैं, साउन २३
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याउने तयारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाका अनुसार पाँचमध्ये एउटा शव अफ्ठयारो ठाउँमा रहेकाले निकाल्ने काम भइरहेको छ ।
दुर्घटनामा परेर हेलिकप्टरका पाइलट अरुण मल्ल तथा चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
रसुवाको स्याफ्रुबेसी उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको हो ।







