सर्लाही, साउन २०
सर्लाहीको मलङ्गवा नगरपालिकामा बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन् ।
मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज २ त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै ट्याक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन् ।







