काठमाडौं, १७ साउन
दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन् । उनले शाक्यले घरमै थप उपचार गर्नुपर्ने भएकाले तत्कालै काममा जान सक्ने अवस्था भने पाइलटको नरहेको बताइन् ।
अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो ।
साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको थियो।







