काठमाडौँ, १६ साउन :
गायिका शान्तिश्री परियारले आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना भएपछि दर्शकश्रोतासँग माफी मागेकी छन् ।
बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको उल्लेख छ ।
“सामाजिक संजालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएकाले क्षमाप्रार्थी छु,” उनले भनेकी छन् ।