काठमाडौँ, ९ साउन
सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । उनले ज्वाइ प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् ।
तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । परिवार स्रोतका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् ।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।