धरान, असार २२
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी संजिता धमलामाथि दुर्व्यवहार भएको छ । नगर प्रमुख साम्पाङ आफैँले पटक–पटक सामाजिक सञ्जालमार्फत कार्यकक्षमा बोलाएपछि सञ्चारकर्मी धमला शुक्रवार दिउँसो मेयरको कार्यकक्षमा पुगेकी थिइन् ।
सञ्चारकर्मी धमलाले मेयर साम्पाङलाई सामाजिक सञ्जालमा आफ्नो नाम तोकेर पटक–पटक चरित्र हत्या गर्न पाइँदैन भन्दा उल्टो मेयरले धमलालाई नगर प्रहरी तथा नेपाल प्रहरी लगाएर लछारपछार पार्दै कार्यकक्ष बाहिर निकालेको पूर्वेली न्यूजले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
उक्त घटनापछि प्रेस चौतारी नेपाल सुनसरी, नेपाल प्रेस युनियन सुनसरी, प्रेस सेन्टर नेपाल, सुनसरी तथा समाजवादी प्रेस संगठन, कोशी प्रदेशद्वारा घटनाको घोर भर्त्सना गर्दै दोषी उपर कडा कारर्वाहीको माग गरेका छन् ।
सबैको बोल्न पाउने अधिकार हुँदा–हुँदै मेयर साम्पाङले कार्यकक्षमा महिला सञ्चारकर्मीमाथि गरेको कायरतापूर्ण व्यवहारको पत्रकारका संघ–सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोर भर्त्सनासहित घटनामा संलग्नहरू माथि कारर्वाहिको माग गरेका छन् । नेपालको संविधानले समेत नागरिकले बोल्न पाउने अधिकार सुनिश्चित गरेको बेला मेयर साम्पाङले संविधान विपरीत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । (कलाकर्मिबाट साभार )








