इलाम बैशाख १६,
मतगणना आज अपरान्ह १२ बजेपछि शुरू भएको छ ।
फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फाकफोकथुमको वडा नम्बर १ स्थित छायाँदेवी माविको मतदान केन्द्रबाट मतगणना शुरू गरिएको हो ।
फाकफोकथुमको सकेपछि चुलाचुली, माङ्सेबुङ गाउँपालिका माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने आज बिहान बसेको सर्वदलीय बैठकले निर्णय गरेको थियाे ।
बैठकले तोकेको समयभन्दा एक घण्टा ढिलो मतदान शुरू गरिएको हो ।
बैठकमा दलहरूले निर्वाचन निर्देशिका २०७९ मा भएको कानूनी व्यवस्थालाई अनिवार्य पालना गर्नेलगायत ६ बुँदे सहमति गरेका थिए ।
शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।