इलाम, वैशाख १२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।
कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सांकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाईएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’
यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’
सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथी के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए ।