काठमाडाैं बैशाख ८,
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज(शनिबार)देखि ललितपुरको गोदावरीमा शुरू हुँदै छ । गोदावरीस्थित सनराइज सभाहलमा हुने दुई दिने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ।
बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने महासचिव पोखरेलले विश्वास व्यक्त गरे ।
एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताए । ‘मुलुकलाई अगाडि बढाउने निष्कर्ष परिषद् बैठकबाट गर्ने छौँ,’ उनले भने, ‘महाधिवेशन यताको समग्र कामको समीक्षा गरिनेछ ।’
बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए। उनका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पनि समीक्षा गरिनेछ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । यही वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने छन् ।