चितवन, ११ मङ्सिरः
गत असोज २१ गते बिहान ५ः१० बजे चौबिसकोठी–रामपुर सडकखण्डअन्तर्गत भरतपुर–४, सृष्टिचोकमा मर्निङवाक गरिरहेका ६० वर्षीय कृष्णप्रसाद कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालकलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ ।
तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट कँडेल गम्भीर घाइते भएका थिए । दुर्घटनापश्चात् मोटरसाइकलसहित चालक फरार भएका थिए ।
सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरू गर्दै सयौँ सिसिटिभी फुटेज र दर्जनौँ मोटरसाइकलको विष्लेषण गरी फरार आरोपीको पहिचान गरेको हो । सो अनुसन्धानबाट भदौ २१ गतेको घटनामा प्रयोग भएको ना ३७ प ८५३० नम्बरको मोटरसाइकल र चालक गोरखा नगरपालिका वडा नं–१३ बस्ने २७ वर्षीय सुनिल गुरूङ रहेको पत्ता लागेको थियो ।
प्रहरी टोलीले काठमाडौँ, बौद्धमा लुकिछिपी बसिरहेका सुनिल गुरूङलाई मोटरसाइकलसहित मङ्सिर ९ गते नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतमा सवारीसाधन अङ्गभङ्गसम्बन्धी कसुरमा पेस गरी ७ दिन म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनापछि तदारुकताका साथ अनुसन्धान गरी फरार चालकलाई पक्राउ गरेको जनाएको छ ।















