चितवन, १८ चैत
गोर्खाको सहिद लखन गाउँपालिका-३, घोर्लेस्वाँरामा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृयु भएको छ । मृत्यु हुनेमा स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-४ का ४५ वर्षीय शोभाखर गैरे रहेका छन् ।
शनिबार दिउँसो नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।