२६ मंसिर, काठमाडौं ।
वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो ।
‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ । उहाँको लागि अर्को कोठा बनेपछि त्यो खाली कोठमा पञ्जीकरण शाखा राख्ने तयारी थियो । तर उपप्रमुखज्यूले आफ्नो कार्यकक्ष बनाउने भनेपछि विवाद सुरु भएको थियो,’ महानगरका एक अधिकृतले भने ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत बसेको कार्यालयमा उपमेयर आलम सर्न चाहेका थिए । विवादपछि झडपको स्थिति बनेकाले जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारविक्रम थापा आफैं घटनास्थल खटिएका छन् ।