भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्।
आज (मंगलवार) रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए।
भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाँणलाई फसाइएको आरोप कार्यकर्ताले लगाएका थिए।
‘बालकृष्ण खाँण यहाँको नेता हो, तपाईंहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक हो‚’ देउवाले भने‚ ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।’
अदालतमा विचाराधीन रहेका कारण यस मुद्दामा बोल्न नहुने बताएका देउवाले तर पनि आफूलाई उनले न्याय पाउने विश्वास लागेको बताए। देउवाले अन्तरराष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए।
‘अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन,’ उनले भने, ‘काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु।’
कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्र कँडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतले पनि आआफ्ना भनाइ राखेका थिए।