– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख १६ –
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उम्मेद्वारी दिएका जग्गनाथ पौडेलले उम्मेद्वारी फिर्ता नलिने भएका छन् । शिर्ष नेतृत्वको दबाब र अफरलाई अस्वीकार गर्दै पौडलले उम्मेद्वारी फिर्ता नलिने अडान लिएका हुन् ।
पौडेललाई फकाउन चितवन आएका गृहमन्त्री बालकृष्ण खाँड निरास हुँदै आज काठमाडौं फर्किएका छन् । पौडेललाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन आएका थिए । बिहीबार दिनभर उनलाई मनाउन अनेकन प्रयास गरेका थिए । तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखे । घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेद्वार पौडेलले आफू पछि नहट्ने बताएका थिए ।
पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए । बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेद्वारी फिर्ता लिन तयार भएनन् । त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए । प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उक्त अफरलाई पौडेलले ठाडै अस्वीकार गरिदिए ।
पौडेललाई फकाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । उनीहरुको प्रस्ताव प्रधानमन्त्रीको सल्लाहबिना आउने खालको थिएन । तर पौडेलले प्रधानमन्त्रीको अफरलाई समेत अस्वीकार गरिदिए । पौडेलको घरमै पटकपटक पुगेर उम्मेद्वारी फिर्ता लिन खाँण र श्रेष्ठले आग्रह गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले पनि फोन गरेर पौडेललाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए । जति गरे पनि पौडेल फकिएनन् ।
उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर, आफ्नो उम्मेद्वारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो ।
यतिमात्र होइन केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका थिए । उनले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेद्वारी फिर्ता लिन लगाएका थिए । भरतपुरबाट प्रचण्डकी छोरी रेणु दाहालले सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा उम्मेद्वारी दिएकी छिन् । यदि पौडेलले उम्मेद्वारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने आंकलन गरिएको छ । जसले गर्दा प्रचण्डले पनि उम्मेद्वारी फिर्ता गराउन दबाब दिएका थिए । तर पौडलले प्रचण्डको दबाबलाई पनि इन्कार गरिदिए ।
कुनै उपाय नलागेपछि नेपाली कांग्रेसले बागी उम्मेद्वार फिर्ता नलिनेलाई कारबाही गर्ने घोषणा गरेको छ । कांग्रेसको घोषणा अनुसार आज शुक्रबार बेलुकासम्म उम्मेद्वारी फिर्ता नलिए पार्टीले अनुशासनको कारबाही गरेर निष्कासन गर्ने छ । तर भरतपुरका बागी उम्मेद्वार पौडेलसहित देशका अन्य स्थानीय तहका बागी उम्मेद्वारले ‘बरु कारबाही भोग्न तयार छौं तर उम्मेद्वारी फिर्ता लिन्नौं’ भनिरहेका छन् ।