बुटवल असार १६,
लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले आज शनिवारदेखि आफ्ना सम्पूर्ण सामग्री बिक्रीवितरण ठप्प पार्ने चेतावनी दिएको छ ।
संघले गत २०७९ माघ ११ गते भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै क्रसर उद्योगको नवीकरण नहुँदासम्म गिट्टी, बालुवा, ढुंगा लगायतका नदीजन्य पदार्थ बिक्री नगर्ने रुपन्देहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
संघका प्रदेश अध्यक्ष गोपालप्रसाद ज्ञवालीले सरकारले नियतवश क्रसर व्यवसायीलाई अवैधानिक बनाएको आरोप लगाए ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष चन्द्रमणि अधिकारीले सरकारले आफैं गरेको निर्णय कार्यान्वय गर्न नसक्नु लज्जास्पद भएको बताए । उनको प्रश्न छ, ‘जब सरकारले तोकिएका निर्णय सम्बन्धित कार्यालयबाट कार्यान्वयन हुन सक्दैन भने सरकारभन्दा माथि को छ ?’
सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रूपमा चलिरहेका क्रसर उद्योगहरू आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपथ्र्यो तर व्यवसायीले पटक–पटक अनुरोध गर्दा पनि सरकारको नियमसंगत दर्ता भएर सञ्चालन गरिएका क्रसर उद्योगलाई किन अवैध बनाउँदैछ भन्दै व्यवसायीले आक्रोश पोखेका थिए ।
गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो तर उद्योगीहरूले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरू स्वतः वैध हुने दाबी गरेका छन् ।
व्यवसायीको निर्णयले नेपालभर रहेका ६०० बढी क्रसर उद्योगबाट नदीजन्य वस्तु बिक्रीवितरण बन्द हुनेछ ।















