काठमाडाैं जेठ १६,
पृथ्वीराजमार्गअन्तर्गत रहेको शहीदगेट भत्काइएको छ ।
पृथ्वीराजमार्ग विस्तार गर्न लागि तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट आज बिहान भत्काइएको हो ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो । शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका शहीदहरूको विवरण समेटिएको थियो ।
अहिले मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्ने काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।
पाँच अर्ब ४२ करोड विनियोजन
सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका थिए ।