काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ।
‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ। अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आउनुभएको छ,’ संचालक भन्छन् । वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन् ।
उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको छ।
पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको संचालकको भनाई छ । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।