गोरखा, कात्तिक २४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि घात गर्ने प्रवृत्तिले बेला बेलामा टाउको उठाउने गरेको बताएका छन् ।
गोरखाको अजिरकोटको भच्चेकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विरोधी शक्तिलाई पुरै परास्त गर्नुपर्ने बताए ।
‘यो गठबन्धन निर्वाचनका लागि बनाएको होइन । यो गठबन्धन जनताले ७० वर्ष लडेर ल्याएको संघीय लोकतान्त्रिक संविधान, समानुपातिक र समावेशी व्यवस्थालाई उल्ट्याउन खोज्ने, देशलाई फेरि सामन्ती व्यवस्थातिर धकेल्न खोज्ने, अँध्यारोतिर धकेल्न खोज्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने क्रममा जन्मिएको गठबन्धन हो’ प्रचण्डले भने, ‘यो गठबन्धन बनाउनु राष्ट्र र लोकतन्त्रको आवश्यकता भयो । संविधानमा घात गर्ने प्रवृत्ति अझै पराजित भइसकेको छैन । बेला बेलामा टाउको उठाउन खोज्छ ।’
पटक–पटक संसद विघटन गरेर मात्रै नभएर नागरिकता विधेयक राष्ट्रपतिबाट अनुमोदन नगराउनु समेत संविधान विपरीत भएको प्रचण्डले बताए । आगामी मंसिर ४ गते संविधान विरोध पश्चगामीलाई पुरै परास्त गर्नुपर्ने उनले बताए ।
गोरखाको भच्चक जस्तो ठाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाएर पर्यटनको केन्द्र बनाउने समेत प्रचण्डले आश्वासन दिए ।