चितवन, असार १२-
राप्ती नगरपालिकाको शिखर राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हल्यान्ड निवासी रिक्कि महाविरको आर्थिक सहयोग तथा ग्रिन सोसाइटी पब्लिक स्कुलको समन्वयमा राप्ती ५ मा रहेको सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
अति विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयका ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको ग्रिन सोसाइटीका कोअर्डिनेटर श्रीलाल परियारले जानकारी दिए । “शिक्षा मानिसको नैसर्गिक अधिकार हो ।” उनले भनेँ “यसको पहुँचबाट कोहि वञ्चित हुनुहुँदैन । शैक्षिक सामाग्रीको उपलब्धताले विद्यार्थीलाई केही हदसम्म भएपनि सहज हुनेछ ।”
कार्यक्रममा बोल्दै राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले नगरभित्रका सबै बालबालिका विद्यालय शिक्षासँग जोडिउन र आर्थिक कारणले विद्यालय छोड्नुपर्ने दिन नआओस भन्ने आफुहरुको चाहाना भएको बताए । “कापी कलम किन्न पनि नसक्ने विद्यार्थीहरुलाई सहयोग गर्नुभयो, साच्चै आभारी छौ ।” उनले भनेँ ।लामाले भर्खरै विनियोजित बजेटमा पनि शिक्षालाई प्राथमिकता दिएको बताए । नगर भित्रका विद्यालयमा नि:शुल्क शिक्षा उपलब्ध गराउने लक्ष्य बोकेको पनि उनले बताएका छन् ।
कोरोनाकालमा ग्रीन सोसाइटीले विभिन्न ठाउँमा खाद्यान्न वितरण गरेको थियो । हाल १८ जना विद्यार्थीलाई नि:शुल्क आवासीय शिक्षा उपलब्ध गराइएको र १३ जना विद्यार्थीलाई अध्ययनको लागि सम्पूर्ण खर्च व्यहोर्ने गरि अध्यापनको व्यवस्था मिलाएको ग्रीन सोसाइटीका शान्तमणी नहर्कीले बताएका छन् ।