खैरहनी ।
शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेसन’द्वारा आयोजित ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ कार्यक्रम पर्सामा भव्य रूपमा सम्पन्न भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम सफल र प्रभावकारी बनेको आयोजकले जनाएको छ।
जेठ १४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अष्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्ड तथा संयुक्त राज्य अमेरिका लगायतका प्रमुख शैक्षिक गन्तव्यबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै अध्ययन अवसर, छात्रवृत्ति, भर्ना प्रक्रिया तथा भविष्यका करियर सम्भावनाबारे परामर्श लिएका थिए।
ब्रान्च म्यानेजर देव कुमार बुढाथोकीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भने,
“विद्यार्थी र अभिभावकहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो। यस्तो कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे स्पष्ट बुझाइ दिनुका साथै उनीहरूको भविष्यको करियर योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छ।”
आयोजकका अनुसार सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक पृष्ठभूमि, रुचि र करियर लक्ष्यअनुसार उपयुक्त देश, विश्वविद्यालय तथा उपलब्ध छात्रवृत्ति अवसरबारे उपयोगी जानकारी प्राप्त गरेका थिए। साथै अभिभावकहरूले पनि आफ्ना सन्तानका लागि सही शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक मार्गदर्शन पाएका थिए।
कार्यक्रममा स्पट एसेसमेन्ट, छात्रवृत्ति तथा शुल्कसम्बन्धी जानकारी, कोर्स तथा देश छनोट परामर्शका साथै अंग्रेजी भाषा तयारीसम्बन्धी विशेष सत्रहरू समेत सञ्चालन गरिएको थियो।
सहभागी विद्यार्थीहरूले यस्तो कार्यक्रमले विदेश अध्ययनसम्बन्धी स्पष्ट, व्यावहारिक र उपयोगी जानकारी प्राप्त गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
एक सहभागी विद्यार्थीले भने, “विभिन्न देशका विश्वविद्यालय र छात्रवृत्तिबारे प्रत्यक्ष जानकारी पाउँदा आफ्नो करियर योजना बनाउन धेरै सहज भयो।”
त्यस्तै अर्का विद्यार्थीले, “विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर अत्यन्तै उपयोगी रह्यो। आवेदन प्रक्रिया, खर्च र छात्रवृत्तिबारे धेरै कुरा बुझ्न पाइयो,” भन्दै अनुभव साटे।
सन् २००५ मा स्थापना भएको ‘द नेक्स्ट एजुकेसन’ले विगत दुई दशकदेखि नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाका लागि मार्गदर्शन गर्दै आएको छ। संस्थाले विभिन्न देशका विश्वविद्यालयसँग सहकार्य गर्दै अध्ययन, करियर तथा विदेश शिक्षा सम्बन्धी परामर्श सेवा प्रदान गर्दै
आइरहेको जनाएको छ।















