काठमाडौं, जेठ १५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएपछि पहिलो बजेट शुक्रबार दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका छन् । बजेटमा वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदै जानको लागि प्रोत्हासन गरिएको छ ।
“वैदेशिक रोजगारीलाई थप सुरक्षित एवम् मर्यादित बनाउन श्रम सम्झौताको पुनरवलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौँ,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको उनले जनाए ।
“सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौँ । बिनाधितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउनेछौँ,” अर्थमन्त्री वाग्लेले भने । उनले वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
औपचारिक च्यानलबाट भित्रिने रेमिट्यान्सलाई थप प्रोत्साहित गर्न रेमिट्यान्स आप्रवाहको हरेक रिसिटमा आधारित लट्री कार्यक्रम सञ्चालन गरिने बजेटमा समेटिएको छ । “रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रुपान्तरण गर्न ‘विप्रेषण – लगानी मिलान कोष’ सञ्चालन गर्नेछौँ । वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौँ,” अर्थमन्त्री वाग्लेले भने ।
युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सीपयुक्त बनाउने योजना सरकारको छ ।















