नारायणगढ (चितवन), जेठ ६ –
समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।
पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उहाँले भन्नुभयो, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि अलि छिटो आएको छ । तथापि चारदेखि साढे चार महिनासम्म भुक्तानी बाँकी रहनु, रकम जति भए पनि, राम्रो पक्ष होइन ।” उहाँले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह रहेको बताउनुभयो ।
अध्यक्ष बगालेले डिडिसी र अन्य उद्योगीसँग गरेर करिब रु ५५ करोड भुक्तानी बाँकी रहेको बताउनुभयो । किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उहाँको भनाइ छ । डिडिसीसँगै अन्य उद्योगीलेले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सङ्घले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन् । दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युजस्ता वस्तु बिक्री हुँदै आएका छन् । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगरस्थित आफ्नै उद्योगमार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ । – रासस
















