काठमाडौं, जेठ ५ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।
उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’
उनले काभ्रेका एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यान केन्द्रित गरेका छन् ।उनले भने, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ । सिंहदरवारका प्रर्खालभन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकिकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’
यस्तै, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति, थीति र विधी बसाल्नका लागि विरोध गरेको बताए ।
‘हामीले विरोधका लागि विरोध भने गरेका हैनौं । संसारभर हेर्दा सत्ता पक्ष र प्रतिपक्ष इमान्दार भएको खण्डमा परिणाम राम्रो आउने रहेछ । नीति, थिति र विधी बसाल्नुपर्छ भन्ने कुरा हो,’उनले भने ।















