काठमाडौं, जेठ ५
नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहका बीच उनले राष्ट्रपतिबाट शपथ लिएका हुन्।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले मंगलबार दिउँसो नै डा शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। समितिबाट नाम स्वीकृत भएलगत्तै राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
गत वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। २०७६ साल वैशाखदेखि सर्वोच्चको न्यायाधीशका रूपमा कार्यरत शर्माले अबको ६ वर्षसम्म न्यायालयको नेतृत्व सम्हाल्नेछन्।
















