काठमाडौं, मंसिर २८ –
बसिर अहमेदको अलराउन्ड प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध ५१ रनको जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो । प्रतियोगितामा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।
चौथो खेलमा पुनः पराजय भोगेको विराटनगरलाई कर्णाली याक्सले सात रनले निराश बनाएको थियो । पाँचौँ खेलमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा १३ रनको हार व्यहोरेको थियो ।