काठमाडाैं, कात्तिक १३
पार्टी सभापति रवि लामिछाने रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा एक सांसदसहित ३३ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना छन् ।
प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरेको थियो । सो क्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गरेको हो ।
बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।
लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।
विरोध प्रदर्शनकै क्रममा रास्वपा सांसद गणेश पराजुलीले पक्राउ गरिएका ३३ जनालाई रिहा गर्न सरकारलाई चेतावनी दिए ।






