काठमाडौँ, १९ माघ –
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’
सोमबार १८ महिना लामो तालिम पुरा गरेर नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् ।
प्रधानमन्त्री कार्कीले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै भनिन्, ‘ विगतको कमजोरी नदोहोर्याउने र भविष्यमा प्रहरीलाई व्यावसायिक बनाउने दायित्व तपाईंहरुको हो ।’
कानुन कार्यान्वयन गर्न अधिकतम शिष्टता र मानवता हुनुपर्ने उल्लेख गर्दै कार्कीले भनिन्, ‘तपाईंको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो ।’






