आकांक्षा पोख्रेल-
चितवन, १० कात्तिक
पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपा चितवनले शनिबार पनि प्रदर्शन गरेको छ। राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले भरतपुरको लायन्स चोकबाट पुलसम्म र्याली गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘कर छल्नेलाई कारबाही गर’, ‘मिडिया ट्रायल बन्द गर’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’ लगायतका नारा लगाए ।
त्यस्तै ‘रवि दाइलाई न्याय दे!’ लेखिएको प्लेकार्ड बोकेर समर्थक सडकमा उत्रीएका छन्। रास्वपा चितवनले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला सभापति कृष्ण प्रसाद भुसालले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताए। सरकारको गलत कदम विरुद्द सबै एकजुट हुन उनले आग्रह गरे। उनले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताए। सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारबाहीको दायरामा ल्याउनु भेदभाव देखिएको उनको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएपछि प्रहरीले गत शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।