पोखरा, कात्तिक ७-
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो ।
मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान सकिएकाले पुनः कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।
बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो ।
रविलाई बुटवल लैजाने प्रहरीको तयारी
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध बुटवलमा जाहेरी नपरे पनि जोशीको वयानका आधार लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले पनि पार्टी सभापति लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी रहेको सूचना पाएको बताएका छन् ।






