काठमाडाैं जेठ १३,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।
आइतबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे ।
त्यसपछि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सांसदलाई बोल्न दिए ।
कांग्रेसको अवरोध रहेको संसद् बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेकै स्थानबाट विरोध जनाए ।
त्यसपछि नेमकिपाका प्रेम सुवालले नीति तथा कार्यक्रम माथि आफ्नो विरोधको सूचना राखे । त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि छलफलका लागि १ घण्टाको समय छुट्याइएको जानकारी दिए ।
त्यसपछि सत्तापक्षको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले छलफलमा भाग लिँदै कांग्रेसले विरोध गर्न जरुरी नरहेको बताए ।
संसद् अवरोध नरहेको समयमा यस्तो छलफल तीन दिन सम्म चल्ने गरेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बजेट अगाडि सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यता छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता छ ।
त्यसअघि अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा आर्थिक सर्वेक्षण पेश गरेका थिए ।








