चितवन,बैशाख १८
चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् ।
अभियानले आज माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म र्याली प्रदर्शन गरेको हो । निकुञ्जका जनावरहरुले समेत धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर टाँस गर्दै धुलोरहित सडक निर्माणको दबाबका लागि र्याली निकालिएको थियो।
र्याली प्रदर्शनमा सहभागीहरुले “वायु प्रदुषणले जनावरलाई पनि हानी पुर्याउँछ, सँगै लडौं”, “बन्यजन्तु र मानब दुबैको हितकोलागी धुलो रहित बाटो आजको आबस्यकता”,Full of Dust, We are Lost”, “Much Pollution not Solution” र “Reduce Pollution, Save Wildlife, Secure our Future” लेखिएकाका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
समृद्धिका लागि युवा अभियान माडीले आह्वान गरेको दबाबमूलक कार्यक्रममा स्वतस्फूर्त उल्लेख्य युवा र माडीबासीहरु सहभागी भएका थिए ।
र्यालीको गन्तव्यबिन्दुका रुपमा रहेको कसराचोकमा सम्पन्न कोणसभामा बोल्दै एक अभियन्ता रामचन्द्र लम्सालले निकुञ्जभित्र बाटोमा उड्ने धुलोले जनावरहरुलाई समेत असर गरेको बिषय अन्तर्राष्ट्रिय र राष्ट्रिय चासो एवं चिन्ताको बिषय रहेकोले दबाबस्वरुप सो र्याली निकालिएको बताउनुभयो ।