काठमाडौँ, वैशाख २३ –
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको ‘हाम्रो खाजा घर’ ले म्याद नाघेको दही बिक्री गरेको फेला परेपछि विभागले उक्त कारबाही गरेको हो ।
विभागका अनुसार उपभोक्ताको गुनासो र उजुरीका आधारमा बुधबार (२०८३/०१/२३ गते) गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद गुज्रिएको दही फेला परेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
जरिवानाका साथै विभागले उक्त दहीको उत्पादक ‘श्री कृष्ण डेरी फर्म’ लाई आफ्नो व्यवसाय दर्ता प्रमाण पत्र पेस गर्न निर्देशन दिएको छ । यस्तै, ’हाम्रो खाजा घर’ लाई उक्त दही खरिद गरेको बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन समेत आदेश दिइएको छ ।
सरकारी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै अखाद्य वस्तुको बिक्री वितरण भएको भेटिएपछि विभागले अनुगमनलाई थप कडाइ गर्ने सङ्केत गरेको छ।







