चितवन, जेठ २२
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा महानन्द चालिसेले विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा आजबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सजिलो नभएको भन्दै डोजर लाउनुपर्ने अवस्था आएको बताउनु भएको हो ।
सम्मेलनमा डा. चालिसेले भन्नुभयो, ‘ यो भाषा प्रयोग गर्ने कि नगर्ने, विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था आएको छ । समस्या नै समस्या भएकोले निमित्त भए पनि हामी सक्रियरुपले लागिरहेका छौं ।’ डा चालिसेले विश्वविद्यालयमा राजनीतिकरण र दलीयकरणले धेरै समस्या सिर्जना गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि जग्गाको कुरा देखि प्रशासनिक र पूर्वपदाधिकारीका समयदेखिको समस्याहरु छन् । प्राध्यापकहरुसँग पनि धेरै समस्याहरु रहेका छन् ।’
डा चालिसेले विकासको लागि राजनीति त चाहिन्छ तर नैतिकता भएको राजनीतिज्ञ हुन जरुरी रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीति नैतिकताको हुनुपर्छ । चीनले गरेको आर्थिक रुपान्तरण र विकास शिक्षाकै कारणले हो । शिक्षाको अनुसन्धान र खोजको कारणले आएको थियो । राजनीतिक व्यक्तित्वमा सुधारको प्रतिबद्धता चाहिन्छ । उनीहरुले कम्युनिस्ट शिक्षा विधि भन्दा पनि पश्चिमा शिक्षण विधिको प्रयोग गरे ।’ उहाँले हामीले पाढ्यक्रमलाई बजार, श्रम र उत्पादनसँग कहाँ तिर जोड्यौ भनेर प्रश्न पनि गर्नुभयो
त्यसैगरी सम्मेलनको उद्घाटन शत्रमा व्यवस्थापन संकायका पूर्व डीन प्राध्यापक डा डिल्लीराज शर्माले अहिले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न राज्यले ध्यान दिनुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ शिक्षा, स्वास्थ्यको ग्यारेन्टी राज्यले गर्नुपर्छ । देशमा उद्योगधन्दा र व्यापारको विकास भएन भने हामीले जति कमाउँदै पढ्दै जस्ता कार्यक्रम ल्याए पनि केही गर्न सकिँदैन । उद्योग क्षेत्रमा लगानी हुनुपर्छ, रोजगारी बढ्नुपर्छ ।’ डा. शर्माले समस्याको जड अर्थतन्त्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ आर्थिक विकास भएन भने शिक्षा क्षेत्रमा केही गर्न सकिँदैन । रोजगारी सिर्जना र आर्थिक विकासमा राज्यका संयन्त्रहरुको समन्वय हुनुपर्छ । विद्यार्थीहरुलाई रोजगारी कहाँ दिने ? राज्य संवेदनशील बन्नुपर्छ । उहाँले अहिलेको शिक्षाले विद्यार्थीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ अहिले देशमा नैतिकताको खडेरी छ, नैतिक मूल्य, मान्यताहरु कमजोर भएका छन् । अहिलेको शिक्षाले विद्यार्थीको सिप, ज्ञान र बानी व्यवहारमा पनि रुपान्तरण ल्याउनुपर्छ ।
त्यसैगरी सम्मेलनमा बीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रेमसागर भण्डारीले यसप्रकारको महत्वपूर्ण सम्मेलन गरेकोमा सप्तगण्डकी बहुमुखी क्याम्पसलाई धन्यवाद दिनुभयो । कार्यक्रममा अध्यक्षता गर्नुभएका सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले क्याम्पसले गरेको राष्ट्रिय सम्मेलनलाई कर्मकाण्डी हुन नदिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हाम्रो सम्मेलन कर्मकाण्डी हुँदैन । क्याम्पसले यस्ता अनुसन्धानमूलक सम्मेलनहरु राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पनि गर्ने छौं ।’ कार्यक्रममा सम्मेलन आयोजक समितिको संयोजक प्रा. डा कपिलदेव सुवेदीले सम्मेलनको उद्देश्य, मोडल र आवश्यकताबारे स्पष्ट पार्नुभयो । क्याम्पस प्रमुख खिमलाल दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मेलन आयोजक समितिका उपसंयोजक बसन्तराज लामिछानेले कार्यक्रममा सहभागी प्रमुख अतिथि र अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा चर्चित कवि भूपिन र रामपुर कृषि क्याम्पसकी प्राध्यापक डा रमा पौडेलले वातावरण दिवसको अवसरमा कविता वाचन गर्नुभयो ।
सम्मेलनको पहिलो दिन आज शुक्रबार अनुसन्धानसम्बन्धी १४ वटा पेपर प्रस्तुति गरेर त्यसमाथि छलफल भयो । आजको सेसनमा काठमाडौँ विश्वविद्यालयका एशोसिएट प्राध्यापक डा गजेन्द्र शर्मा ले प्रविधिमा आधारित अनुसन्धानमूलक शिक्षण प्रविधिको बारेमा आफ्नो प्रस्तुति दिनुभयो । अब भोलि शनिबार र पर्सी आइतबार गरेर बाँकी ४४ वटा अनुसन्धान प्रतिवेदनमा छलफल हुनेछ । भोलि प्राध्यापक डा. विद्यानाथ कोइराला र काठमाडौ विश्विद्यालय स्कुल अफ एजुकेशनका डिन डा विनोदप्रसाद पन्तले आफ्नो अनुसन्धानमूलक प्रस्तुतिहरु दिनुहुनेछ ।
सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा क्याम्पसको छ । सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको छ । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् ।

















