नवलपुर (नवलपरासी), जेठ ९-
चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छे नदी किनारमा जम्मा हुन थाले । नारायणी नदीमा भएको यो घटना कुनै भवितव्य दुर्घटना नभइ विपद् प्रतिकार्य अभ्यासका लागि सुरक्षाकर्मी आफैले गराएको कृत्रिम अभ्यासको घटना हो । नवलपुरमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरले जिल्लाको कावासोतीमा रहेका सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी दिएको प्रशिक्षणमा सुरक्षाकर्मीले डुङ्गा पल्टाएका हुन् ।
डुङ्गा पल्टिएपछि पल्टिएको डुङ्गालाई कसरी सुल्टो बनाएर ज्यान जोगाउने भन्ने विषयमा नदीमा नै सुरक्षाकर्मीले अभ्यास गरेर देखाएका थिए । योसँगै उनीहरुले नदीमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा घरेलु सामग्रीले तयार पारिएका जीवन सुरक्षित पार्ने विधिसमेत प्रदर्शनी गरेका थिए । तालिमका क्रममा सुरक्षाकर्मीले घरवरिपरि फालिएका विभिन्न सामग्रीलाई सङ्कलन गर्दै बाढी तथा डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जान मिल्ने उपकरणको तयारीबारे समुदायलाई जानकारी दिएका थिए ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले खोलामा कसरी उद्धार गर्ने, कसरी सुरक्षित रहने तथा घरेलु उपकरण प्रयोग गरेर कसरी खोलामा डुब्नबाट जोगिन सकिन्छ भन्नेबारे प्रशिक्षण दिनुभएको थियो । खड्काले प्लाष्टिकका बोत्तल, जर्किन, सवारीसाधनको ट्युब, केराको थम्बा (बोट), सुकेको बाँसको सामग्रीलगायतबाट नदीमा तैरिने सामग्री निर्माण गरी बाढी तथा डुबानजन्य विपद्बाट जोगिने उपायबारे समुदायलाई जानकारी गराउनुभएको थियो । उहाँले नदीजन्य विपद्मा परेका समुदायका उद्धारका लागि याफ्टिङ डुङ्गा लैजाँदा त्यसलाई कसरी सञ्चालन गर्ने र कसरी मानिसलाई उद्धार गर्ने भन्नेबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
कारितास नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त प्रशिक्षणमा कावासोती नगरपालिकाका ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने तालिममा कावासोती नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्मका विपद् व्यवस्थापन समितिका सदय तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीको सहभागिता रहेको गौलीले बताउनुभयो । प्रशिक्षणका क्रममा सशस्त्र प्रहरी बलको टोलीले सहभागीलाई एलपी ग्यासको सिलिण्डरमा आगलागी भएमा नियन्त्रण लिने उपाय, दुर्घटनामा घाइतेको उद्धार तथा नदीमा हुने विपद्मा उद्धारका अभ्यास गराइने उहाँले बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षणपश्चात समुदायमा फर्किएर विपद्को समयमा खोज तथा उद्धारको काममा खटिने गौलीको भनाइ छ । सशस्त्र प्रहरी बलले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा समुदायमा रहेका व्यक्तिलाई विपद् प्रतिकार्य अभ्यास गराउँदै आएको सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले बताउनुभयो । नवलपुरका धेरै पालिका मनसुनजन्य विपद्को जोखिममा रहेका भन्दै समुदायका हरेक व्यक्तिलाई यसप्रकारको तालीम आवश्यक रहेको बताउनुभयो । रासस















