काठमाडौं,जेठ ८-
अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएका बेला नेकपा एमालेले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा बाँडेको कानुनविपरीतको रकम राज्यकोषमा फिर्ता गरेको छ । स्रोतले दिएको जानकारीअनुसार एमालेले तीन करोड ९० लाख रुपैयाँ राज्यको ढुकुटीमा जम्मा गरेको हो ।
भीभीआईपीको उपचारका लागि सरकारले त्यसबेला खर्च गरेको रकम एमालेले राज्यकोषमा जम्मा गरेको जानकारी उच्च स्रोतले दियो । सरकारले त्यसबेला प्रधानमन्त्री रहेका ओलीको वैदेशिक उपचारमा दुई करोड ३९ लाख खर्च गरेको थियो भने पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ८१ लाख र पूर्वराष्ट्रपति रामवरण यादवलाई ७० लाख रुपैयाँ दिएको थियो ।
उक्त रकम कानुनविपरीत खर्च गरेको भन्दै अख्तियारले छानबिन गरेको थियो ।
स्रोतले दिएको जानकारीअनुसार रकम फिर्ता गरे कारबाहीबाट जोगिन सकिने भएकाले फिर्ता गरिएको हुन सक्छ । एमाले नेताहरुले भने यसबारेमा अहिले पार्टीमा कुनै छलफल नभएको र शुक्रबार बोलाइएको बैठकमा छलफल हुने जानकारी दिएका छन् । एमालेले आज सचिवालय बैठक बोलाएको छ ।
















