चितवन, जेठ ६ –
रामेश्वर टोल विकास संस्था तथा रामेश्वर मित्रमिलन समाजको आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम भरतपुर महानगरपालिका–२ स्थित रामेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरिएको हो।
रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–२ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस्तै, नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाका सभापति कृपा राजभण्डारी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन तथा समन्वय सामाजिक व्यक्तित्व एवं संस्थाका सचिव सुरज सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा कुल ४१ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।
समाजमा सामाजिक भावना विकास गर्ने, आपसी भाईचारा अभिवृद्धि गर्ने, जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्ने तथा मानवतामूलक कार्यप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।
कार्यक्रममा “रक्तदान नै मानव इतिहासकै सबैभन्दा पुण्य कार्य हो” भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो।

















