चितवन, बैशाख २२ –
चितवन मेडिकल कलेज (सीएमसी) ले मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण प्रक्रिया सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने ‘सीएमसी हेटौंडा’ अस्पताल भवनको मंगलबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
अस्पताल निर्माणको शिलान्यास सीएमसी हेटौंडाका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले गरेका हुन् । करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने अस्पताल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
१९ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल प्रारम्भिक चरणमा १०० शय्याको हुनेछ । अस्पतालमा आवश्यक मापदण्डअनुसार पार्किङ, चमेनागृह लगायतका पूर्वाधार पनि निर्माण गरिने जनाइएको छ।
अस्पताल सञ्चालनमा आएपछि करिब ५० चिकित्सकसहित ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ । चितवन मेडिकल कलेजले यसअघि नै हेटौंडा–११ थानाभर्याङमा ‘सीएमसी चुरेहिल अस्पताल’ सञ्चालन गर्दै आएको छ ।







