मुस्ताङ, चैत ३०-
काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । रासस










