१९ फागुन, काठमाडौं ।
चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आदिवासी जनजातिलाई लक्षित गरी अपमानजक अभिव्यक्ति दिएको भन्दै विरोध भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवन र नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौतमको अभिव्यक्तिको विरोध जनाएका हुन् ।
रास्वपा उम्मेदवार गौतमले चुनावी सभालाई सम्बोधनको क्रममा आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनेको आरोप छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद सचिवालय चितवनका अध्यक्ष सागर कुमालले विज्ञप्ति जारी गरेर वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमार्दन गरेको आरोप लगाएका छन् । ‘गुरुङ र थारु लगायतका सामुदायलाई ‘सोझो’’ र ‘‘पैसामा बिक्ने’’ भनी वर्गिकृत गर्नुले उम्मेदवारको संकीर्ण र नश्लवादी सोचलाई उजागर गरेको छ,’ अध्यक्ष कुमालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज हो । मतदातालाई ‘‘पैसा दिए लिनुस्’’ भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु सरासर निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास हो ।’
उनले २४ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्न गौतमसँग मागसमेत गरेका छन् ।
यसैगरी नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय समितिका महासचिव अनिल त्होर्जे तमुले जारी गरेको विज्ञप्तिमा रास्वपा उम्मेदवार गौतम र सम्बन्धित दलले गल्ती स्वीकार नगरेमा सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।








